समय : ०१:५९ pm | सोमबार , मंसिर ८ गते २०८३

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

अर्थ विशेष | मंसिर ८ गते २०८३

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीको नेतृत्वमा दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको हो। वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय चासोका विषयमा छलफल भए पनि त्यसको विस्तृत विवरण र निष्कर्ष सार्वजनिक गरिएको छैन।

वार्तामा नेपाली प्रतिनिधिमण्डलबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असीम शाह सहभागी थिए। परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितका अधिकारी पनि सहभागी थिए।

भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद तथा प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास सहभागी भएका थिए। भारतीय विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत उच्च अधिकारी पनि वार्तामा उपस्थित थिए।

दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको वार्तालाई नेपाल–भारत कूटनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यद्यपि वार्ताका एजेन्डा, सहमति र आगामी कार्यदिशाबारे दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक हुन बाँकी छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्