इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ ।
बिहान उठ्ने बित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्छन् । त्यसपछि उनी घोडा लिएर पर्यटकीय क्षेत्र कन्याम बजार निस्किन्छन् । दिनभर पर्यटकलाई घोडा चढाएर कन्याम र आसपासका क्षेत्र घुमाउछन् । दिनभरि कमाएको पैसा लिएर उनी साँझ घर फर्कन्छन् । यसरी नै बित्ने गरेको छ उनको दैनिकी ।
परम्परागत कृषि गर्दै आएका तामाङका लागि घोडचढी व्यवासाय पछिल्ला दिनमा आम्दानीको मुख्य स्रोत बनेको छ । उनले सरदरमा दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
‘बिहानदेखि साँझसम्म घोडालाई स्याहारसुसारदेखि पर्यटकलाई घोडामा चढाएर घुमाउनु आजकलको दैनिकी बनेको छ,’ उनले भने, ‘दिनभर पर्यटकलाई घोडा चढाएर सरदर दैनिक तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन रु एक हजार खर्च हुन्छ । बाँकी बचत हुन्छ ।’
प्याकेजमा पर्यटक घुमाउने मौका पाएको बेला भने पाँच हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाइ छ । परम्परागत खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आफूलाई थप सन्तुष्टि र आनन्द मिलेको उनी बताउँछन् । सोमबहादुरको मात्र होइन, यतिबेला कन्यामका ३९ किसानको दिनचर्या यस्तै रहेको छ । घोडापालन गर्दै आएका किसानको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउन ठिक्क छ । बिहानदेखि बेलुकासम्म उनीहरु पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् ।
पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदो छ । यहाँ घुम्न आउने पर्यटक घोडचढी नगरी फर्कंदैनन् । पर्यटकको चाप बढेपछि घोडा व्यवसायी झनै दङ्ग छन् । यहाँ चियाबारी ट्रेलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरूको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ । घोडचढी व्यवसायलाई व्यवस्थित बनाउनका लागि मूल्य निर्धारण गर्न र व्यवसायीलाई सङ्गठित गर्न घोडचढी व्यवसायी सङ्घ गठन गरिएको छ ।
सङ्घले दूरीअनुसार विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरिएको घोडचढी व्यवसायी सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङले बताए । उनका अनुसार घोडा चढेर फोटो खिचेको मात्र ५० र १० मिनेट घुमेको१०० रुपैयाँ, स्पोर्ट राउन्ड घुमेको ३०० रुपैयाँ, हरियाली चिया बगान घुमेको ६०० रुपैयाँ र कन्यामका सबै क्षेत्र घुमेको (प्याकेजअनुसार) दुई हजार ५०० देखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ ।
‘सङ्घको निर्णयानुसार हामीले विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरेका छौँ । ५० देखि पाँच हजार रुपैयाँसम्मको प्याकेज छ,’ उनले भने, ‘हामीले आम्दानी गरेबापत नगरपालिकामा वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइ शुल्कबापत मासिक ८० रुपैयाँ तिर्दै आएका छौँ ।’
घोडचढी व्यवसायी सङ्घका अध्यक्ष पनि रहेका सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको बताए । कन्याम आउने पर्यटकलाई घोडामा सवार गराएर जीविकोपार्जन गर्न सहज भएको उनको भनाइ छ ।
‘पर्यटकलाई घोडा चढाएर चाहेको स्थानमा घुमाउने गर्छौँ । यो काम अन्य खेतीपातीको तुलनामा धेरै सहज छ,’ उनले भने, ‘घोडचढी व्यवसायबाट आम्दानी मात्र हुँदैन, नयाँ नयाँ पर्यटकलाई घुमाउन र उनीहरूसँग भेटघाट गर्न पाउँदा मन आनन्दित हुन्छ ।’ कन्याममा बालबालिका र युवादेखि वृद्धवृद्धाले घोडामा सवार गर्ने गरेका छन् ।
सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यतिबेला कन्याम घुम्न आउने मुख्य ‘सिजन’ सुरु भएको छ । सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताए ।
चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज, फोटो, भिडियो खिच्नाका साथ साथै घोडचढीका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।










