काठमाडौं । सद्भाव थिएटर–नेपालको प्रस्तुति तथा राम के.ए.सी.को लेखन–निर्देशनमा तयार भएको मौलिक नाटक ‘माण्डवी’को पुस्तक लोकार्पणसँगै नाटकको मञ्चन सुरु भएको छ । थापागाउँस्थित एक थिएटरमा आयोजित कार्यक्रममा नाटकको पुस्तक लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उप–प्राध्यापक डा. कान्छी महर्जनले ‘माण्डवी’ले उठाएको सह–अस्तित्वको विषय समाज विकासका लागि महत्वपूर्ण रहेको बताइन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा प्राज्ञ जीतबहादुर देउजा ‘विजय विस्फोट’ले ज्यादै प्रयोगवादी नाटकको रूपमा टिप्पणी गरे ।
‘माण्डवी’लाई केवल कथा भनेर हेर्नु यसको गहिराइलाई सीमित गर्नु हुनेछ। यो समयको एउटा संवेदनशील दस्तावेज हो, जहाँ मानिस आफ्नै जीवनको गति, सम्बन्ध र अस्तित्वसँग प्रश्न गरिरहेको हुन्छ ।
माण्डवीको संसारमा प्रवेश गर्दा दर्शकले एउटा पात्रको कथा मात्र देख्ने छैनन्; उनीहरूले आफ्नै समय, आफ्नै सम्बन्ध र आफ्नै अन्तरमनका केही परिचित छायाहरू भेट्न सक्नेछन् । मञ्चमा देखिने मौनता, प्रकाश र शरीरको गति आफैँमा संवाद बन्नेछन् । शब्दले भन्न नसकेका भावहरू अभिनय, दृश्य र ध्वनिले व्यक्त गर्नेछन् ।
नाटकको सौन्दर्य यसको सरलताभित्र लुकेको जटिलतामा छ। जीवनका सामान्य देखिने क्षणहरूभित्र असाधारण प्रश्नहरू जन्मन्छन्। माण्डवी त्यही प्रश्नहरूको रंगमञ्चीय प्रतिध्वनि हो—जहाँ समय केवल बित्दैन, मानिसभित्र बाँचिरहन्छ ।
नाटक ‘माण्डवी’मा कलाकारहरूले प्रस्तुत गरेको अभिनयले दर्शकलाई कथाको भावभूमिसँग जोड्न सफल भएको छ । माण्डवीको भूमिकामा रहेकी निलीमा पाण्डेको अभिनय सशक्त र प्रभावशाली देखिन्छ । सकम्बरीको भूमिकामा संस्कृति वन विशेष रूपमा प्रस्तुत भएकी छिन्। सुम्निमाको भूमिकामा रहेकी तिर्सना राईले आफ्नो अभिनयमार्फत दर्शकलाई सुम्निमाको कालखण्डीय यात्रामा डोर्याउँछिन् । त्यस्तै, पिँजडाको भूमिकामा भीष्म राज जोशीको ऊर्जाशील अभिनय उल्लेखनीय छ ।
नाटकमा रूषा श्रेष्ठ, एवन राज उप्रेती, सन्तोष विष्ट र किरण चापागाईंको अभिनयले पनि प्रस्तुतीलाई जीवन्त बनाएको छ। कलाकारहरूको सामूहिक अभिनय, भावाभिव्यक्ति र मञ्चीय उपस्थितिले ‘माण्डवी’लाई थप प्रभावकारी बनाएको छ ।
‘माण्डवी’ असोज १ गतेदेखि १४ गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको आयोजकले जनाएको छ। नाटकको पुस्तकको मूल्य २५० रहेको छ भने टिकट अनलाइन तथा नाटकघरबाटै प्राप्त गर्न सकिनेछ ।











