समय : ०२:५१ pm | मङ्गलबार , भाद्र २३ गते २०८३

रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नाइमाद्वारा ५० लाख सहयोग

अर्थ विशेष | भाद्र २३ गते २०८३

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।

सहयोग हस्तान्तरणका क्रममा NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्। उनले यो सहयोग NAIMA का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट प्रदान गरिएको उल्लेख गरिन्।

अध्यक्ष वैद्यले संकट तथा विपद्का समयमा NAIMA सरकार र प्रभावित समुदायसँगै उभिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यका लागि प्रतिबद्ध रहने बताइन्।

“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन्।

सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले NAIMA ले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए। उनले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा निजी क्षेत्रबाट प्राप्त सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्