काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय तथा एक अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ।
बैंकले बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई बिरामीको उपचार थप सहज र गुणस्तरीय बनाउन विभिन्न स्वास्थ्य उपकरण तथा उपचार सामग्री उपलब्ध गराएको हो।
दैनिक ८० जनाभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताललाई मंसिर ३ गते आयोजित कार्यक्रममा बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिनराज ज्ञवालीले संयुक्त रूपमा अस्पताल प्रमुख डा. कुलदीपकुमार यादवलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
त्यसैगरी बैंकले बर्दियाकै मधुवन नगरपालिका–८, दुर्गापुरस्थित श्री शिवदुर्गा माध्यमिक विद्यालय र बारबर्दिया नगरपालिका–९, बनगाईस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गर्न पानी शुद्धीकरण प्लान्ट जडान गरिदिएको छ।
शिवदुर्गा माध्यमिक विद्यालयमा ४१७ भन्दा बढी र जनज्योति माध्यमिक विद्यालयमा ४३४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। दुवै विद्यालयमा जडान गरिएका प्लान्ट बैंकका नेपालगञ्ज सर्कल हेड शाही र शाखा प्रमुख ज्ञवालीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका थिए।
यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारमा पनि बैंकले पानी शुद्धीकरण प्लान्ट जडान गरेको छ।
६२० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा मंसिर २ गते आयोजित कार्यक्रममा बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठ र धनुषा शाखा प्रमुख प्रेमबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठ र प्रधानाध्यापक सन्तोषकुमार यादवलाई प्लान्ट हस्तान्तरण गरेका थिए।
बैंकले उपलब्ध गराएको सहयोगबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई शुद्ध खानेपानीको पहुँच विस्तार हुनुका साथै अस्पतालको उपचार सेवामा समेत सहजता आउने विश्वास व्यक्त गरेको छ।










