समय : ११:१६ pm | शुक्रबार , श्रावण २९ गते २०८३

जीवन विकास लघुवित्तले पायो उद्यमशीलता विकास पुरस्कार

अर्थ विशेष | श्रावण २९ गते २०८३

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उद्यमशीलता विकासमा अग्रणी भूमिका खेल्दै आएको जीवन विकासलाई स्वावलम्बन विकास केन्द्रले २ लाख रुपैयाँ राशीको उद्यमशीलता विकास पुरस्कार प्रदान गरेको हो ।

स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकासमा उत्कृष्ट कार्य गर्ने संस्थालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । ३५ औं वार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष २०८१/८२ को लागि जीवन विकासले यो पुरस्कार प्राप्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठसहितले यो पुरस्कार जीवन विकासका सञ्चालक समिति सदस्य श्यामचन्द्र खतिवडा र संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई हस्तान्तरण गरे ।

जीवन विकास लघुवित्तले करिब तीन दशकदेखि ग्रामीण क्षेत्रका विपन्न परिवारको घरदैलोमा पुगेर वित्तीय सेवा प्रदान गर्दै आएको छ । सदस्यहरूलाई लघुउद्यममा लाग्न प्रोत्साहित गर्दै सीपमूलक तालिम दिने र उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा पनि सहजीकरण गर्दै आएको छ ।

महिला सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै उनीहरूको सामाजिक र आर्थिक स्तर उकास्न संस्थाले गरेको योगदानलाई कदर गर्दै स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो । उद्यमशीलता बढाउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न र गरिबी न्यूनीकरणमा जीवन विकासले निर्वाह गरेको भूमिकालाई मूल्यांकन समितिले उत्कृष्ट ठहर्‍याएको थियो ।

कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको जीवन विकासले २० हजार भन्दा बढी महिला सदस्यलाई उद्यमी बनाएको छ ।

गरिबीरहित नेपाल निर्माणका लागि संस्थाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । पुरस्कार ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै उनले उद्यमशीलता विकासका लागि छुट्टै विभाग नै खोलेर सहजीकरण गरिरहेको बताए ।

दिगो विकास र पर्यावरणको संरक्षणलाई सँगै अघि बढाउन संस्थाले इको भिलेज निर्माणलाई अभियानकै रुपमा अघि बढाएको उनले बताए । इको भिलेज सुरु भएका ग्रामीण बस्तीका परिवार उत्पादनमा जोडिएका छन् । उनका अनुसार बालबालिकालाई उद्यमशीलतासँग जोड्नका लागि जीवन विकासले इन्क्युबेसन सेन्टर सञ्चालन गरिरहेको छ ।

युवाहरुका लागि उद्यमशीलता विकासको तालिम पनि सञ्चालन गरिरहेको छ । सदस्यहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा सीप विकास तालिम सञ्चालन गर्दै आएको संस्थाले उद्यमीको अनुभव साटासाट गर्न एवं नयाँ प्रविधि बुझ्न सदस्यहरूलाई अवलोकन भ्रमणमा लैजाने तथा उद्यमी सदस्य र सदस्यको श्रीमानश्रीमतीको निशुल्क दुर्घटना बीमा गरिरहेको जानकारी दिए ।

कार्यक्रममा स्वालम्बन विकास केन्द्रले तीन जना महिला सदस्यहरुलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरेको छ । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपरासीकी सदस्य मध्यविन्दु नगरपालिका– ५ की लिलाकुमारी थारु, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाकी सदस्य हल्दीबारी गाउँपालिका– २ झापाकी शर्मिला थेबे, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकी सदस्य बारबर्दिया नगरपालिका– ६ बर्दियाकी सुनिता थारुलाई उत्कृष्ट लघुउद्यमी पुरस्कार प्रदान गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्