समय : ०३:४१ am | शनिबार , असाेज ९ गते २०८३

माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोलामा ९ अर्ब लगानी

अर्थ विशेष | असाेज ९ गते २०८३

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ ।

सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ ।

सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन् ।

भदौ १० गतेको भोटेकोशी बाढीपछि वित्तीय व्यवस्थापन पूरा गर्ने यो सम्भवतः पहिलो जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ ।

आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । चार घण्टा अर्धजलाशययुक्त प्रकृतिको आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भएको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

आयोजनास्थल याकखर्कमा हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी काम अघि बढाइएको छ । आयोजनाको विद्युत्गृह भूमिगत बनाउने प्रस्ताव गरिएको छ ।

आयोजनाले विद्युत् उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । सञ्चालनको नवौं वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

विद्युत् प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले आठ पटक मूल्यवृद्धि पाउनेछ ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुने अनुमान गरिएको छ । आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ ।

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ ।

घलेम्दीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–नरच्याङमा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

सांग्रिला ऊर्जाले प्रवर्द्धन गरिरहेको छुजुङ खोला आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ५५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनमा जोडिनेछ । त्यसका लागि आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

सांग्रिला ऊर्जाले सोही नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत् आयोजनासँगको साझेदारीमा प्रसारण लाइन निर्माण गर्ने सम्झौता गरेको छ । करिडोरमा थप आयोजना पनि निर्माण हुने भएकाले प्रसारण लाइनको लागत अझ कम हुने कम्पनीको भनाइ छ ।

आयोजनाका लागि आवश्यक रुख कटानको काम सम्पन्न भइसकेको छ । एक रुख काटेपछि १० वटा रुख रोप्नुपर्ने नीतिअनुसार रुख रोप्ने तथा संरक्षणका लागि आयोजनाले वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ ।

आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग निर्माण सम्पन्न भएको छ । त्यस्तै, आयोजनाका लागि आवश्यक क्याम्प निर्माणको काम पनि पूरा भएको कम्पनीले जनाएको छ ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए ।

‘यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ । बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन । प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ उनले भने ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाका प्रवर्द्धकले अनुभवी र सहयोगी बैंकहरूको कन्सोर्टियम पाएको बताए ।

उनले आफ्नो पहिलो जलविद्युत् आयोजनामा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै बैंकको सहयोगका कारण आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको बताए ।

‘मेरो पहिलो जलविद्युत् आयोजना ७.५ मेगावाटको थियो । त्यसमा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो। हामीले तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ । तर, बैंकको सहयोगका कारण २२ महिनामै सम्पन्न गर्न सफल भयौँ,’ उनले भने ।

डाँगीले छुजुङ खोला आयोजनाका प्रवर्द्धक अनुभवी रहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

निर्माणमा ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुन सक्ने भन्दै उनले समयमै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागतमा छोटो समयमै आयोजना निर्माण गर्न सकिने बताए ।

उनका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताअनुसार अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन ।

‘आयोजनाको हेड ९०० मिटरभन्दा बढी भएकाले क्षमताअनुसार ठूला संरचना बनाउनुपर्ने अवस्था छैन । त्यसैले कम लागत र छोटो समयमै आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ,’ उनले भने ।

उनले आयोजनाको क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव बढ्ने र यसले हाइड्रोलोजिकल जोखिम कम गर्ने दाबी गरे ।

सांग्रिला ऊर्जाका प्रबन्ध निर्देशक पुष्कर पौडेलले अर्धजलाशययुक्त आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको बताए ।

उनका अनुसार आयोजना नदीभन्दा ४५ मिटर माथि रहेकाले भोटेकोशीमा आएको जस्तो बाढीबाट आयोजनामा क्षति हुने जोखिम कम छ । नदीमा सेडिमेन्टको मात्रा न्यून रहेको र हिमपहिरोको जोखिमसमेत नरहेको उनको भनाइ छ ।

सांग्रिला ऊर्जाले १७१ मेगावाट क्षमताको जलाशययुक्त (स्टोरेज) जलविद्युत् आयोजना पनि अघि बढाउने भएको छ ।

कम्पनीले बाजुराको बिछ्या क्षेत्रमा छिम्दी कवाडी खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको हो ।

हाल उक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्