काठमाडौं । नबिल बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड प्राप्त गरेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्रस–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड हात पारेका हुन् ।
शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्डसँगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ । यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा लिएको छ ।
विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ । शाइन रेसुङ्गा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो ।
अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो ।
यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।










