समय : ११:४२ am | मङ्गलबार , श्रावण ५ गते २०८३

लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियानः विश्वकपको गोल बराबर बिरुवा रोप्ने

अर्थ विशेष | श्रावण ४ गते २०८३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘द गोल इज ग्रिन’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डब्लुडब्लुएफ नेपाल र बाँकेको कम्दी सामुदायिक वन समन्वय समिति (कम्दी सीएफसीसी)सँग सहकार्य गरेको छ।

बैंकले फिफा विश्वकप २०२६ का प्रत्येक खेलमा हुने हरेक गोल बराबर एक वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो। विश्वकै लोकप्रिय फुटबल प्रतियोगितालाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।

यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियान कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने तथा तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकतासँगै दीर्घकालीन मूल्य सिर्जनाको आधार रहेको बताउँदै ‘द गोल इज ग्रिन’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिने विश्वासलाई व्यवहारमा उतारेको उल्लेख गरे। फिफा विश्वकप २०२६ मा भएका प्रत्येक गोल बराबर एक बिरुवा रोप्ने प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरिएको उनले बताए।

डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र नभई उपयुक्त स्थानमा रैथाने प्रजातिका बिरुवा रोपेर स्थानीय समुदायसँगको सहकार्यमा दीर्घकालीन संरक्षण सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। यस्ता साझेदारीले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने उनको भनाइ थियो।

काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी)का अध्यक्ष महेन्द्र शाहीले लक्ष्मी सनराइज बैंक र डब्लुडब्लुएफ नेपालसँगको सहकार्यले जैविक मार्ग (करिडोर) पुनःस्थापनाको प्रयासलाई थप बल पुग्ने तथा स्थानीय समुदायले दीर्घकालीन लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे।
बैंकका अनुसार ‘द गोल इज ग्रिन’ अभियानमार्फत दिगोपनलाई वित्तीय सेवा र उत्पादनमा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिइएको छ। फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता बैंकले पूरा गरेको जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्