काठमाडौं ।यो वर्ष विद्युतीय सवारी साधन (इभी)को आयात घटेको छ।तर, पेट्रोल तथा डिजेलबाट चल्ने कारको आयात बढेको छ।भन्सार विभागका अनुसार २०८२ साउनदेखि २०८३ जेठसम्म १५ हजार ४६६ युनिट कार, जिप र भ्यान आयात भएका छन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १ हजार ७८६ युनिट कम हो। गत वर्ष ११ महिनामा १७ हजार २७२ युनिट कार आयात भएका थिए।पेट्रोल तथा डिजेल कारको आयात भने बढेको छ।चालु आवको ११ महिनामा ४ हजार ५७४ युनिट इन्धन कार आयात भएका छन्।
गतवर्ष सोही अवधिमा ३ हजार ७६१ युनिट आयात भएका थिए। यस वर्ष आयात भएका इन्धन कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल अवस्थामा भित्रिएका छन्।इभी कारको आयात भने घटेको छ। ११ महिनामा २५ अर्ब ६८ करोड रूपैयाँ बराबरका १० हजार ८९२ युनिट इभी कार आयात भएका छन्।
यसबाट सरकारले १५ अर्ब ५३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।गत वर्षको सोही अवधिमा १३ हजार ४९२ युनिट इभी कार आयात भएका थिए। यस वर्ष २ हजार ६०० युनिट कम आयात भएका छन्।
किलोवाटका आधारमा हेर्दा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ७९८ युनिट र २०१ किलोवाटभन्दा माथिका १० युनिट इभी कार आयात भएका छन्।५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल इभी कार पनि आयात भएका छन्।
चालु आर्थिक वर्षमा दुई पांग्रे सवारी साधनको आयात बढेको छ।११ महिनामा पेट्रोल र विद्युतीय गरी २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।यो संख्या गत वर्षको तुलनामा ६३ हजार ७५५ युनिट बढी हो।गत वर्ष सोही अवधिमा १ लाख ८६ हजार ४२६ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका थिए।
चालु आवमा २९ अर्ब ९० करोड १० लाख रूपैयाँ बराबरका २ लाख २७ हजार ९४१ युनिट इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।यसबाट सरकारले २८ अर्ब ९३ करोड ३० लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।कुल आयातमध्ये २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल र ४३ हजार ९३४ युनिट तयारी अवस्थाका मोटरसाइकल तथा स्कुटर रहेका छन्।
यस्तै, ११ महिनामा २ अर्ब २९ करोड ७१ लाख रूपैयाँ बराबरका २२ हजार २४० युनिट विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।यसबाट ८० करोड ४४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।गत वर्ष सोही अवधिमा १० हजार ५५१ युनिट विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका थिए।
यस वर्ष ११ हजार ६८९ युनिट बढी आयात भएको विभागको तथ्यांक छ।










