समय : १०:४३ am | आइतबार , असाेज १८ गते २०८३

नेपाली कांग्रेसको महाधिवेशन आजदेखि

अर्थ विशेष | असाेज १८ गते २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि काठमाडौंको खुलामञ्चमा प्रारम्भ हुँदैछ । दिउँसो ठीक २ बजे भव्य समारोहका बीच उद्घाटन हुने यस महाधिवेशनमा मुलुकभर र विदेशस्थित जनसम्पर्क समितिहरूबाट चुनिएका ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी भई पार्टीको आगामी नीति तथा नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तथा ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महाधिवेशनलाई केवल व्यक्ति वा नेतृत्व चयन गर्ने थलोका रूपमा मात्र नभई पार्टीको वैचारिक दिशा र नीति तय गर्ने ऐतिहासिक मोडका रूपमा अघि बढाइएको कांग्रेस नेतृत्वको दाबी छ ।

ऐतिहासिक र राजनीतिक पृष्ठभूमि : बिपी र गणेशमानको ऐतिहासिक थलोबाट नयाँ यात्रा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चस्थल आफैँमा नेपालको प्रजातान्त्रिक आन्दोलनको गहन इतिहास बोकेको स्थान हो । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक भाषण यही खुलामञ्चमै गरेका थिए ।

त्यसैगरी, सर्वमान्य नेता गणेशमान सिंहले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि आयोजना गरिएको २०४६ सालको जनआन्दोलनको सफलताको ऐतिहासिक घोषणा पनि यही टुँडिखेल खुलामञ्चबाटै गरेका थिए ।

यस ऐतिहासिक थलोमा आयोजना भइरहेको महाधिवेशनले इतिहासलाई भविष्यसँग जोड्दै समृद्ध नेपाल निर्माणका लागि बिपी विचारलाई नै प्रमुख वैचारिक आधार बनाउने लक्ष्य लिएको नेतृत्वको दाबी छ । गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न भएको पार्टीको दोस्रो विशेष महाधिवेशनपश्चात् आयोजना हुन लागेको यो १५औँ महाधिवेशनसम्म आइपुग्दा आन्तरिक लोकतान्त्रिक अभ्यासका माध्यमबाट नवपुस्ताका करिब ४४ हजार युवाहरू पार्टीका विभिन्न तहगत जिम्मेवारीमा स्थापित भइसकेका छन् ।

तिनै युवा तथा प्रतिनिधिहरूको सक्रिय सहभागितामा सुरु भएको यस महाधिवेशनले पार्टीभित्र स्पष्ट विधि, पद्धति र संस्थागत परिपाटी निर्माण गर्ने विश्वास लिइएको छ ।

उद्घाटन समारोह, देउवालाई विशेष आमन्त्रण र राजनीतिक शीर्ष नेताहरूको सहभागिता

महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता एवं उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्नेछन् । उद्घाटन समारोहमा सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी भइदिन औपचारिक निमन्त्रणापत्र पठाएको जनाइएको छ । यद्यपी देउवाको नेतृत्वमा भिन्नै महाधिवेशन आयोजना गरिएकाले देउवा आउने सम्भावना भने न्यून देखिन्छ ।

शनिबार साँझ पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी निमन्त्रणापत्र लिएर देउवा निवास चुनदेवी पुगेका थिए । सो क्रममा पूर्वसभापति देउवासँग प्रत्यक्ष भेट हुन नसकेपछि उक्त निमन्त्रणापत्र निवासको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभित्रका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने निश्चित भएको छ । कांग्रेसको निमन्त्रणा स्वीकार गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले समारोहमा सहभागी भई शुभकामना व्यक्त गर्ने तय भइसकेको छ ।

यसका साथै श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय भ्रातृ तथा मित्रवत् संघसंस्थाहरूको सहभागिताका सन्दर्भमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा भाग लिन काठमाडौं आइपुगेकी छिन् । छिमेकी मुलुकहरू भारत, चीनका साथै संयुक्त राज्य अमेरिका लगायत आधा दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिए पनि महाधिवेशनको मिति परिमार्जन भएका कारण वैदेशिक पाहुनाहरूको उपस्थिति केही सीमित हुनसक्ने पार्टीले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया, दर्ता शुल्क र स्वागत सामग्री

महाधिवेशनमा सहभागी हुन देशका ७७ वटै जिल्ला, विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम शनिबारदेखि नै तीव्र बनेको छ । महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्य शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको थियो ।

निर्वाचन समितिले तोकेअनुसार प्रत्येक महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दर्ता प्रक्रिया पूरा गरेका प्रतिनिधिहरूलाई पार्टीका तर्फबाट एउटा विशेष झोला प्रदान गरिएको छ । उक्त झोलाभित्र पार्टीको परिमार्जित विधान, दैनिक कार्य टिप्पणीका लागि डायरी र डटपेन, महाधिवेशन अवधिभरका लागि खाना तथा नास्ताको कुपन र आधिकारिक प्रतिनिधि परिचयपत्र (कार्ड) समावेश गरिएको छ ।

बन्दसत्र, दस्ताबेज प्रस्तुति र विषयगत छलफलको अत्याधुनिक प्रविधि

उद्घाटन कार्यक्रम सम्पन्न भएपछि महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुने कार्यतालिका छ । बन्दसत्रमा पार्टीको आगामी रणनीतिक बाटो तय गर्न विभिन्न सांगठनिक तथा नीतिका प्रतिवेदनहरू पेस गरिनेछन् ।

विशेष गरी, सभापति गगनकुमार थापाले आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा वैदेशिक नीतिसम्बन्धी दूरदृष्टि समेटिएको विस्तृत कार्यपत्र पेस गर्नेछन् । यसका साथै उपसभापति, महामन्त्री र कोषाध्यक्षका तर्फबाट पनि आ-आफ्ना विषयगत प्रतिवेदनहरू पेस गर्ने तालिका निर्धारण गरिएको छ ।

पेस गरिएका प्रतिवेदनहरूमाथि गहन र फलदायी छलफल गराउनका लागि भौगोलिक क्षेत्रका आधारमा प्रतिनिधिहरूलाई विभाजन गरी ३ वटा अलग(अलग हलमा समूहगत छलफल सञ्चालन गरिनेछ । छलफललाई प्रविधिमैत्री र पारदर्शी बनाउन प्रत्येक हलमा डिजिटल बोर्डको प्रबन्ध गरिएको छ, जसका माध्यमबाट सहभागीहरूले पेस गरिएका प्रतिवेदनहरू स्पष्ट रूपमा हेर्न र सुन्न सक्नेछन् ।

उम्मेदवारी मनोनयन र निर्वाचनको कार्यतालिका

महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नका लागि केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया राष्ट्रिय सभागृहमा गरिनेछ ।

उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र मतदान सम्बन्धी बाँकी निर्वाचन कार्यक्रम असोज २१ र २२ गतेका लागि तय गरिएको छ । आवश्यकतानुसार निर्वाचन कार्यक्रममा केही व्यावहारिक संशोधन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

सांगठनिक संरचना र पदाधिकारी संख्या वृद्धिसम्बन्धी आन्तरिक बहस

यस १५औँ महाधिवेशनमा पार्टीको विधान संशोधन र पदाधिकारी संख्या बढाउने विषयले पनि निकै चर्चा पाएको छ । २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनबाट परिमार्जन गरिएको विधानअनुसार हाल कांग्रेसमा १७ सदस्यीय पदाधिकारी (सभापति १, उपसभापति २, महामन्त्री २, निर्वाचित सहमहामन्त्री ८, मनोनीत सहमहामन्त्री ३ र मनोनीत कोषाध्यक्ष १) तथा ६१ जना मनोनीतसहित कुल २३१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

पार्टीभित्र विभिन्न पदमा आकांक्षीहरूको संख्या व्यापक बढेकाले पदाधिकारी संरचनामा केही विस्तार गर्नेबारे आन्तरिक छलफलहरू भइरहेका छन् । जसमा उपसभापति संख्या ३ (१ जना महिला अनिवार्य), महामन्त्री ३ र सहमहामन्त्री संख्या ११ बाट बढाएर १५ सम्म पुर्‍याउने सम्भावनाबारे बहस भइरहेको छ ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको भए पनि पदाधिकारी बढाउने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय वा प्रस्ताव भने तयार भइनसकेको प्रवक्ता देवराज चालिसेले बताएका छन् । यसबारे बन्दसत्रमा ७ हजार ५ सय प्रतिनिधिहरूबीच हुने व्यापक छलफल र निर्णयकै आधारमा अन्तिम रूप दिइनेछ ।

यस महाधिवेशनको अर्को महत्त्वपूर्ण विशेषता भनेको समावेशी प्रतिनिधित्व हो । यसपटकको महाधिवेशनबाट ३५ वर्ष मुनिका युवा, लोकतन्त्र सेनानी, श्रम तथा पेसागत क्षेत्रका प्रतिनिधि र विदेशमा रहेका गैरआवासीय नेपालीहरू (जनसम्पर्क समिति) ले पहिलोपटक केन्द्रीय समितिमा प्रत्यक्ष प्रतिनिधित्व पाउने ऐतिहासिक अवसर प्राप्त गर्दैछन् ।

महाधिवेशन प्रतिनिधिको आवास प्रबन्ध र खानपानको व्यवस्थापन

देश तथा विदेशबाट आएका हजारौँ प्रतिनिधिको बसोबासलाई व्यवस्थित बनाउन पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको छ । नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार १० हजार प्रतिनिधि तथा शुभेच्छुकहरूलाई सहज रूपमा राख्न काठमाडौंका विभिन्न ८ प्रमुख क्षेत्रका होटलहरूमा ५ हजार कोठा सहुलियत दरमा बुकिङ गरिएको छ ।

भौगोलिक सुगमताका आधारमा प्रतिनिधिहरूका लागि क्षेत्रगत होटल निर्धारण गरिएको उनले जनाएका छन् ।

महाधिवेशनमा आएका जिल्ला, जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैँ व्यहोर्नुपर्नेछ भने विदेशबाट आमन्त्रित पाहुनाहरूको बसोबास खर्च पार्टीले नै व्यहोर्ने व्यवस्था मिलाएको छ । प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहानको खाना र दिउँसोको खाजा भृकुटीमण्डपमा खुवाउने प्रबन्ध मिलाइएको छ । प्रतिनिधिहरूलाई आफ्नो होटल र आवाससम्बन्धी जानकारी पाउन ह्वाट्सएप, एआई नम्बर, एसएमएस र पार्टीको आधिकारिक वेबसाइटमार्फत सहजीकरण गरिएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुचारु राख्न यातायात व्यवस्थापन समितिका संयोजक एवं केन्द्रीय सदस्य विजयबहादुर स्वाँरको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी सवारी पार्किङका लागि ८ वटा विशिष्ट स्थानहरू तोकिएका छन् । आयोजक समितिले सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूलाई ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन तोकिएकै स्थानमा मात्र सवारीसाधन पार्किङ गरिदिन अपिल पनि गरेको छ ।

२४ सै घण्टा स्वास्थ्य सेवा, एम्बुलेन्स र सञ्चार कक्ष

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीको नेतृत्वमा खुलामञ्चको पश्चिमसतर्फ ५ वटा स्टलसहितको प्राथमिक स्वास्थ्य केन्द्र (हेल्थ डेस्क) स्थापना गरिएको छ । उक्त डेस्कमा ३० जना स्वास्थ्यकर्मी (८ जना चिकित्सक, नर्स र पारामेडिक्स)ले दुई सिफ्टमा २४ सै घण्टा सेवा प्रदान गर्नेछन् ।

हेल्थ डेक्सबाट रक्तचाप, मधुमेह परीक्षणका साथै सिटामोल, जीवनजल र प्राथमिक उपचारका औषधिहरू निःशुल्क वितरण गरिने जनाइएको छ । यदि कुनै प्रतिनिधिलाई तत्काल आकस्मिक अस्पताल भर्ना गर्नुपरेमा महाधिवेशन स्थलमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धारास्थित बीपी स्मृति अस्पतालसँग विशेष समन्वय गरिएको छ । होटलमा रहेका प्रतिनिधि बिरामी परेमा ‘अन कल’ ड्युटीमार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

यसका साथै, महाधिवेशनका सूचनाहरू सञ्चारमाध्यम र सर्वसाधारणसमक्ष द्रुत रूपमा पुर्‍याउन खुलामञ्चमै अत्याधुनिक मिडिया सेन्टर स्थापना गरी नियमित मिडिया ब्रिफिङको व्यवस्था गरिएको छ । साथै, महाधिवेशनमा युवा र प्रविधिलाई जोड्न ‘कन्टेन्ट कम्पिटिसन आयोजना गरी उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्