काठमाडौं । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न हालसम्म ६४८ जना आरोहीले अनुमति पाएका छन् ।
पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले २० वटा हिमाल आरोहणका लागि अनुमति पाएका हुन् ।
अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन् । विभागका अनुसार यस अवधिमा हिमाल आरोहणबाट १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिवेदनअनुसार शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको आकर्षण मनास्लु हिमालमा देखिएको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ वटा आरोहण दलका ५०० जनाले अनुमति पाएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् ।
मनास्लु आरोहणबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
त्यसैगरी धौलागिरि प्रथमका लागि ३४ जना, गणेश हिमालका लागि १६ जना, गंगापूर्ण पश्चिमका लागि ६ जना, थोराङ पिकका लागि ७ जना, नोरबु काङका लागि ४ जना र अन्नपूर्ण चौथोका लागि ४ जनाले आरोहण अनुमति पाएका छन् ।
त्यस्तै, चाम्लाङका लागि ६ जना, बरुन सेका लागि १० जना, लामजुङ हिमालका लागि २ जना, पुमोरीका लागि ६ जना र पुथा हिलचुलीका लागि दुई वटा आरोहण दलका २० जनाले अनुमति पाएका छन् ।
विभागको देशगत विवरणअनुसार शरद् ऋतुमा ६८ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति पाएका छन् । अनुमति पाउनेमा चीनका ११८, रुसका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८ र जर्मनीका ३४ जना छन् ।
त्यस्तै जापानका २१, भारतका १८, अस्ट्रेलियाका १७, चेक गणतन्त्रका १६, क्यानडाका १६, स्पेनका १५, स्विट्जरल्यान्डका १३, इटालीका ९, दक्षिण कोरियाका ९ र पोल्यान्डका १९ जना आरोहीले अनुमति पाएका छन् ।










