काठमाडौं । स्वावलम्बन लघुवित्तका अक्ष्यक्ष प्रा.डा.कुुसुम शाक्यले अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई भोटेकोशी बाढी प्रभावितका लागि भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका माझ रु.४० लाखको चेक हस्तान्तरण गरेकी छन् ।
विपद्को यस कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु-याउने उद्धेश्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थागत तर्फबाट रु.२५ लाख, सञ्चालकहरुका तर्फबाट रु.३० हजार ६ सय र सम्पूर्ण कर्मचारीहरुका तर्फबाट रु.१४ लाख ६९ हजार ४ सय गरी जम्मा रु.४० लाख नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गरिएको हो ।
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ्ग, चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.परिवारले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति र बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
साथै, बाढीमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वित्तीय संस्थाको शाखा कार्यालय वेत्रावती–रसुवामा कार्यरत रही हालसम्म सम्पर्क विहिन हुनुभएका कर्मचारीद्धय किरण थापा र राजकुमार दर्जी लगायतका वेपत्ता नागरिकहरुको सकुशल खोजतलास एवं उद्धारका लागि नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।










