काठमाडाैं। स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ। परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।
पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल १० हजार अनुदान दिइएको हो।
फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्यांक संकलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो। हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसानहरु समेटिएका छन्। कुल २९० हल गोरुका लागि १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उनले बताए। यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ।
“हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ,” उनले भने, “किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको छ।” किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उनको छ।