नारायणगढ (चितवन) । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ। महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले बताए।
उनका अनुसार सङ्घीय सरकारको निर्णयअनुसार महानगरपालिकामा कार्यरत सरकारी कर्मचारीको तलब कटौतीबाट रु ५३ लाख ६८ हजार राहत कोषमा जम्मा हुनेछ। त्यसका अतिरिक्त महानगरका जनप्रतिनिधिले १० दिनबराबरको सेवासुविधा गरी रु एक करोड एक लाख रकम राहतमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न महानगरले निर्णय गरेको बताए। यसैबीच, रत्ननगर नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ। नगरप्रमुख प्रह्लाद सापकोटाले आफ्नो तीन महिनाको सेवासुविधाबापत रु ९९ हजार राहत कोषमा जम्मा गरेको बताए।
नगरपालिकाका कर्मचारी तथा शिक्षकबाट सामूहिक रूपमा रु २५ लाख सङ्कलन गरिने र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बाँकी रकम सहयोग गरिने नगरप्रमुख सापकोटाले बताए। त्यसैगरी, कालिका नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा व्यवस्थापनका लागि एम्बुलेन्स र शववाहन निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ।










