समय : ०५:०७ pm | शुक्रबार , भाद्र १२ गते २०८३

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

अर्थ विशेष | भाद्र १२ गते २०८३

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार अभियानमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्नबारे सरकारले आफ्नो धारणा स्पष्ट पारेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरिएको नभई नेपालको राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरिएको बताएका छन्।

कुरा गर्दै मन्त्री खनालले नेपालको भौगोलिक बनावट, विकट भू–भाग तथा स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि परिचित रहेकाले प्रारम्भिक चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिइएको बताए।

अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय र प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने तथा अनपेक्षित जोखिमसमेत सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमताबाटै उद्धार कार्य सञ्चालन गरिएको उनको भनाइ छ।

“हाम्रो टोली सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ। हाम्रा सुरक्षा निकाय–सेना, प्रहरी र सशस्त्र प्रहरी–सबै यसमा लागिरहेका छन्,” मन्त्री खनालले भने।

विपद् हुनेबित्तिकै हरेक मुलुकले विदेशी सहयोग लिनैपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट उद्धार तथा राहतका काम अघि बढाउनु स्वाभाविक भएको बताए।

नेपालको राष्ट्रिय संयन्त्र, संरचना र संस्थाले आफैँ गर्न सक्ने काममा आत्मविश्वासका साथ अघि बढ्ने सरकारको नीति रहेको उनको भनाइ छ।

यद्यपि, सरकारले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको मन्त्री खनालले स्पष्ट पारे। विशेषगरी सुरुङभित्र उद्धार गर्नुपर्ने वा अत्यन्त जटिल भौतिक संरचनामा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने अवस्था आएमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग लिन सरकार तयार रहेको उनले बताए।

“जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौं,” उनले भने।

मन्त्री खनालले यस विषयमा मित्रराष्ट्रहरूसँग सरकार निरन्तर संवाद तथा समन्वयमा रहेको जानकारी दिँदै आवश्यकता पहिचान भएअनुसार प्राविधिक सहयोग लिने स्पष्ट नीति रहेको बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्