काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब तथा पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
यसका साथै बैठकले भारतसँग जीटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको छ।










