समय : ०५:३७ pm | शुक्रबार , श्रावण २ गते २०८२

धवलागिरिका किसानलाई मौरीसहितको घार

अर्थ विशेष | असार २ गते २०८२

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो ।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले वडा नं ७ ताकममा ४७ वटा र वडा नं ५ मल्कवाङमा आठवटा मौरीघार वितरण गरिसकेको जानकारी दिए । साथै वडा नं २ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ मुदीमा थप ४५ वटा वितरणको तयारी गरेको उनको भनाइ छ ।धवलागिरि गाउँपालिका–७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकलाई एक÷एक वटाका दरले मौरीघार वितरण गरिएको छ । ढुवानीसहित प्रतिमौरीघार नौ हजारका दरले खरिद भएको थियो । जसमा किसानले चार हजार ५०० खर्च गरेका छन् । अहिले मौरी वितरण भएकोमध्य उपयुक्त स्थान छनोट गरेर मौरीपालन पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

मौरी पकेट क्षेत्रमा आहराका लागि तोरीखेती गर्न किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । उच्च पहाडी र प्रशस्त वनजङ्गल भएकाले धवलागिरिमा मौरीपालनको सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । प्रशस्त भिरमह पाइने यहाँ व्यावसायिक रुपमा घरमौरी पालनको विकास हुन सकेको छैन ।

सार्वजनिक सूचना जारी गरेर इच्छुक कृषकहरुबाट आवेदन सङ्कलन र वडा कार्यालयको सिफारिसका आधारमा मौरीघार वितरण गरिएको हो । मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्