काठमाडौँ। शरद् ऋतुमा नेपालका विभिन्न ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुका लागि ९१ वटा टोलीमा आबद्ध ७८८ जनाले हिमाल आरोहणको अनुमति पाएका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। आरोहण अनुमति जारी गरेबापत विभागले हालसम्म रु २४ करोड ७२ लाख सात हजार ६०१ रोयल्टी सङ्कलन गरेको छ।
यस शरद् ऋतुमा सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। उनीहरूबाट मात्रै विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ।
त्यसैगरी धौलागिरि–१ हिमाल आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ८२ लाख ४२ हजार ५० रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।
हिम्लुङ हिमाल आरोहणका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु २० लाख ८७ हजार ८०० रोयल्टी सङ्कलन भएको छ। आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन् भने त्यसबाट रु २९ लाख १२ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
यसैगरी पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ।
विभागका अनुसार आरोहण अनुमति लिने विदेशी आरोहीमध्ये सबैभन्दा धेरै चीनका ११८ जना छन्। त्यस्तै रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३ र जापानका २५ जना रहेका छन्।
विभागले शरद् ऋतुका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् रु २४ करोड ७२ लाख सात हजार ६०१ बराबरको रोयल्टी सङ्कलन गरेको जनाएको छ।










