मनोरथ नेपाल/काठमाडौं चितवन मेडिकल कलेज (सिएमसी)ले राजधानी काठमाडौं र हेटौँडामाअरबौं लगानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने भएको छ । यसका लागि काठमाडौंको तिनकुनेमा अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा हालै शिलान्यास भएको छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौंको नाममा नै यसै वर्षको घटस्थापनाबाट तिनकुनेको अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको बताए । १७ रोपनी जमिनमा १२ अर्ब भन्दा धेरै लगानीमा अस्पताल सञ्चलानमा ल्याउन लागिएको हो ।
अस्पताल सञ्चालनको सुरुवात देखि नै यसको सम्पूर्ण व्यवस्थापन भारतको मेदान्त अस्पतालले गर्ने छ । अत्याधुनिक उपकरण सहित अस्पतालमा क्यान्सर लगायत अति विशिष्टीकृत सेवा प्रदान गर्नुका साथै विश्वका सुविधा सम्पन्न अस्पतालले दिने सेवा नेपालमा नै दिने समेत प्राध्यापक डा न्यौपानेले बताए । करिब तिन सय सैयाको यस अस्पतालले विशेषतः क्यान्सर रोगको उपचार गर्नेछ भने बिरामीको पनि अनुभवी र विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने छ ।
‘यो अस्पताल नेपाली निजी क्षेत्रको सबैभन्दा ठूलो लगानी र अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल हुने छ र जसले गर्दा आगामी दिनमा नेपाली उपचारको लागी भारत जानुपर्ने बाध्यता हट्ने छ’, डा न्यौपानले बताए ।
सिएमसी हेटौँडा उपमहानगरपालिका ४ अन्तर्गत मुख्य राजमार्ग सँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको अस्पतालका अध्यक्ष एवम प्रवन्ध निर्देशक प्रताप देवकोटाले बताए । २ अर्ब पचास करोड लगानीमा निर्माण हुने उक्त अस्पताल १ सय सैयाको हुने छ भने यसमा अति विशिष्टीकृत सेवा समेत हुने उनले बताए । उक्त अस्पतालको भवन २०८४ सम्म निर्माण सम्पन्न गरेर सेवा समेत सञ्चालनमा ल्याउने योजना रहेको देवकोटाले बताए ।
सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार हुने यस अस्पाताल सञ्चालनमा आएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने छन् भने स्थानीयले समेत रोजगारी पाउने भएका छन् । हाल मकवानपुर र आसपासका जिल्लाका बासिन्दा जटिल रोगको उपचार गर्न भरतपुर, काठमाडौं र भारत जानुपर्ने बाध्यता छ ।










