पर्सा। वीरगन्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया पुन: सञ्चालनमा आएको छ।
भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्दा झन्डै एक साता रोकिएको भन्सार जाँचपास प्रक्रिया आयातकर्ताले वस्तु तथा सामानको (अधिकतम खुद्रा मूल्य) आफैँ घोषणा गर्नुपर्ने र गोदाममा पुर्याएर एमआरपी तोक्नुपर्ने कबुलियत गरेसँगै फेरि सञ्चालनमा आएको हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सारमा आयातकर्ताले एमआरपी घोषणा गर्नुपर्ने र गोदाममा समान पुर्याएपछि एमआरपी लगाएर मात्रै बजारमा पठाउने कबुलियत गरेपछि मात्रै बुधबारदेखि जाँचपास प्रक्रिया अघि बढेको बताए।
“हामी भन्सार जाँचपासको प्रक्रिया गराउन तम्तयार थियौँ। तर, आयातकर्ता भन्सार जाँचपास गर्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो,” उनले भने, “अहिले केही समयका लागि कबुलियत गराएर भन्सार जाँचपास गराउन आयातकर्ता तयार भएका छन्।”
यही १५ देखि २२ वैशाखसम्म आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी थिएनन्। यस कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढेको थियो। सूचना अधिकारी विष्टले बुधबार मात्रै करिब ७५ करोड रुपैयाँबराबर भन्सार राजस्व संकलन भएको बताए।
“अहिले भन्सार जाँचपासको प्रक्रिया अघि बढिरहेको छ‚” उनले भने। वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० करोडदेखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अहिलेको अवस्थामा एमआरपीको विषयमा अस्थायी समाधान मात्रै भएको बताए। “हामीले एमआरपीको सन्दर्भमा स्थायी समाधान होस् भन्ने चाहेका थियौँ। अहिले अस्थायी रूपमा मात्रै समाधान भएको छ।”










