समय : ०७:४९ pm | सोमबार , भाद्र २२ गते २०८३

हर्मुज जलमार्गबारे ओमानसँगको वार्ता अन्तिम चरणमा : इरान

अर्थ विशेष | भाद्र २२ गते २०८३

एजेन्सी । इरान र ओमानबीच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्नेबारेको वार्ता अन्तिम चरणमा पुगेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन् ।

मार्ग तोक्नेबारे दुई देशबीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमा दर्ता हुने सम्भावना रहेको बाघाईले तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा बताए ।

जलमार्गमा असुरक्षा अमेरिका र इजरायलको इरानविरुद्धको ‘सैन्य आक्रमण’ को परिणाम भएको बताउँदै उनले भने, ‘यो अवस्था जारी रहेसम्म जहाजहरू यस मार्गबाट विश्वास र सुरक्षाको अनुभूतिसाथ यात्रा गर्न सक्ने छैनन् ।’

कतारको प्रतिनिधिमण्डलले आइतबार इरानको भ्रमण गरेकोबारे सोधिएको प्रश्नको जवाफमा बाघाईले यो भ्रमण क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयासअन्तर्गत भएको बताए ।

तनाव कम गर्न लामो समयदेखि प्रयास गरिरहेका केही मध्यपूर्व क्षेत्रीय देश र इरानबीच सम्पर्क ‘एक निरन्तर प्रक्रिया’ भएको उनले भने ।

गत महिनाको अन्त्यमा जारी संयुक्त वक्तव्यमा इरान र ओमानले हर्मुज जलमार्गमा अस्थायी संयुक्त नौपरिवहन मार्ग स्थापना गर्ने र जलसन्धिमा रहेका बारुद हटाउने संयुक्त परियोजना कार्यान्वयन गर्ने प्रस्तावित चरणबद्ध रूपरेखाबारे विचार आदानप्रदान गरेको घोषणा गरेका थिए ।

दुई देशबीच प्राविधिक वार्ता जारी रहने छ, जसमा स्थायी नौपरिवहन मार्ग तोक्ने, जलसन्धिको भविष्यको प्रशासन र जानकारी आदानप्रदान, ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थाका संयन्त्रबारे छलफल हुने वक्तव्यमा उल्लेख छ ।

इरानले फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि ‘शत्रु’का जहाज वा उनीहरूसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित आवागमनमा रोक लगाउँदै हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्