काठमाण्डौ । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ISO 9001:2015 मापदण्डअन्तर्गत लगातार तेस्रोपटक प्रमाणित भएको छ।
गुणस्तर व्यवस्थापन प्रणालीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय सेवा प्रवाह गर्दै आएको बैंकले तेस्रो सर्भिलियन्स अडिट सफलतापूर्वक सम्पन्न गरेसँगै पुनः प्रमाणपत्र प्राप्त गरेको हो। बैंकले सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी पहिलोपटक ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको थियो।
त्यसपछि सन् २०२५ मा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट प्रमाणित भएको बैंकले सन् २०२६ अगस्टमा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटबाट समेत निरन्तरता पाएको हो। पछिल्लो प्रमाणिकरण २०८३ साल साउन ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू भएको बैंकले जनाएको छ।
बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो। विकास बैंकमध्ये ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थाका रूपमा आफूलाई स्थापित गरेको बैंकको दाबी छ।
ISO प्रमाणिकरणका क्रममा बैंकको नीति, नियम, कार्यप्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण तथा अडिट गरिन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्रभावकारी गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र सेवा तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थालाई मात्र यस्तो प्रमाणपत्र प्रदान गरिन्छ।
बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहककेन्द्रित सेवामा समेत जोड दिँदै आएको छ। यसै क्रममा बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार गुणस्तर व्यवस्थापन प्रणालीको निरन्तर प्रमाणीकरणसँगै डिजिटल सेवाको विस्तारले ग्राहकलाई थप सहज, आधुनिक र गुणस्तरीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई अघि बढाएको छ।










