काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ।
दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) द्वारा आयोजित ‘SAFA Best Presented Annual Report Awards 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।
नोभेम्बर २८ मा बंगलादेशको ढाकामा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेश (आईसीएबी) को आतिथ्यतामा आयोजित समारोहमा बैंकलाई सम्मान प्रदान गरिएको हो।
साफा दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ हो। यसले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअघि गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा आयोजित ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘सिल्भर अवार्ड’ प्राप्त गरेको थियो।
राष्ट्रिय स्तरपछि अन्तर्राष्ट्रिय स्तरमा समेत प्राप्त सम्मानले बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले जनाएको छ।
हालै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको बैंकले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।
बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ISO 9001:2015 तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।
यस उपलब्धिले आगामी दिनमा थप उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न तथा वित्तीय पारदर्शिता र संस्थागत सुशासनका उच्च मापदण्ड कायम राख्न प्रोत्साहन मिलेको बैंकको भनाइ छ।
बैंकले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको अवसरमा ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ।










