काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको वरिष्ठ नेता चयन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस भएको छ ।
ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा भण्डारी वरिष्ठ नेता चयन गर्ने प्रस्ताव पेस भएको हो ।
‘विद्या भण्डारी वरिष्ठ नेता बन्ने पक्का भएको छ,’ एक केन्द्रीय सदस्यले भने ।
एमालेको विधानमा वरिष्ठ नेताको प्रावधान भने छैन । गत भदौको भएको विधान महाधिवेशनले वरिष्ठ नेताको पद समेत खारेज गरेको थियो ।
जेठमा भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता फुकुवा गरेका थिए । त्यसपछि एमालेले उनको पुरानै सदस्यतालाई नवीकरण गरेको थियो ।
०८२ पुस पहिलो साता भएको एमालेको ११औं महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएपछि भण्डारीको सदस्य फुकुवा भएको थियो । ओलीले गत वर्ष भदौमा उनको सदस्यता पेन्डिङमा राखेका थिए ।
महाधिवशेनमा भण्डारीको सदस्यता नवीकरण गरेको भए अध्यक्षमा आफैंलाई चुनौती दिने ठानेकाले गत साउनको केन्द्रीय कमिटी बैठकले उनको सदस्यता ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेको थियो ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एमाले सानो आकारमा खुम्चिएपछि भण्डारी र ओलीबीच चिसिएको सम्बन्ध सुधारको थालनी गरेका थिए । पत्थरीको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला २८ वैशाखमा ओलीलाई भेट्न गुन्डुस्थित निवास पुगेकी थिइन् ।










