समय : ०३:३० pm | मङ्गलबार , श्रावण १२ गते २०८३

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यताका मापदण्ड

अर्थ विशेष | श्रावण १२ गते २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । अर्थ मन्त्रालयद्वारा गठित 'प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समिति'ले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।

इच्छुक उम्मेदवारले यो सूचना पहिलो पटक प्रकाशित भएको मिति (२०८३/०४/१२) ले १५ दिनभित्र अर्थात् २०८३ साउन २६ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिनका लागि उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्षको व्यवस्थापकीय तहको कार्य अनुभव हुनु अनिवार्य गरिएको छ ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । यद्यपि, गैर-नेपाली नागरिक, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीमा परेका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका र मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरू यस पदका लागि योग्य हुने छैनन् ।

आवेदकले तोकिएको ढाँचाको आवेदनका साथमा तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ । आवेदन दस्तुर बापत पाँच हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको खातामा जम्मा गरी सोको सक्कल भौचर आवेदनका साथ संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्