समय : ०७:१० pm | मङ्गलबार , असाेज १३ गते २०८३

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

अर्थ विशेष | असाेज १३ गते २०८३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज र द्रुत रूपमा फर्छ्यौट गर्न ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको छ।

२०८३ साल भाद्र १० गते लेहेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा मानवीय क्षतिका साथै सम्पत्ति, सवारी साधन र हाइड्रोपावर परियोजनाहरूमा क्षति पुगेको थियो ।

बाढीका कारण बीमितहरूमा पर्न गएको विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमकसमक्ष पर्न आएका तथा आउने बीमा दाबीहरूलाई अतिशीघ्र, सरल, पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा फर्छ्यौट गर्ने उद्देश्यले प्राधिकरणले सो नयाँ कार्यविधि लागू गरेको हो ।

बीमा नियमावलीको नियम ९२ को उपनियम (५) को व्यवस्था कार्यान्वयन गर्न बीमा ऐन, २०७९ को दफा ११९ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणको सञ्चालक समितिबाट यो कार्यविधि स्वीकृत भई लागू गरिएको हो ।

यो कार्यविधि भाद्र १० गतेको बाढी आउनुभन्दा अगावै जारी भई जोखिम वहनमा रहेका बीमालेख अन्तर्गतका सम्पत्ति, परियोजना, सवारी साधन तथा व्यापारिक मौज्दातको क्षतिमा मात्र लागू हुने प्रावधान छ ।

पीडित बीमितहरूले झन्झटमुक्त ढङ्गले तोकिएको समयसीमाभित्रै न्यायोचित दाबी भुक्तानी प्राप्त गर्न सकून् भन्ने हेतुले कार्यविधिमा स्पष्ट मार्गदर्शन समेटिएको छ ।

यसै गरी बाढी प्रभावित दाबीहरूको छानबिन तथा फर्छ्यौट प्रक्रियालाई अधिकारप्राप्त निकायहरूको समन्वयमा थप प्रभावकारी बनाइने व्यवस्था गरिएको छ ।

प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेल अधिकारीका अनुसार सम्पूर्ण बीमा कम्पनीहरूलाई यस कार्यविधिको अक्षरशः पालना गर्दै प्रभावित बीमितहरूलाई प्राथमिकताका साथ दाबी भुक्तानी उपलब्ध गराउन निर्देशन दिइएको छ ।

साथै, प्राधिकरणले सम्पूर्ण प्रभावित बीमितहरूलाई आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा सम्पर्क राखी सहज रूपमा दाबी फर्छ्यौट गराउन पनि अनुरोध गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्