काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका थिए। उनले हालै बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरे। त्यस अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच कैयौँ विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए।










