समय : ०७:४६ pm | बुधबार , चैत्र २५ गते २०८२

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

अर्थ विशेष | चैत्र २५ गते २०८२

गण्डकी। गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ ।

जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको सङ्ख्या तीन लाख ३५ हजार ५०५ रहेको छ । पचहत्तर प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ ।

स्वास्थ्य बीमाका लागि प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए । बीमाको योगदान रकमबाट आर्थिक वर्ष २०८१/८२ मा ५६ करोड ७६ लाख ६८ हजार १०० सङ्कलन भएको उनको भनाइ छ ।

एक लाख ६१ हजार ९३५ जना ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी सङ्क्रमितको परिवार, अतिअशक्त अपाङ्गता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचिकृत भएका सेवा प्रदायकरअस्पताल रहेका छन् । सरकारी ५६ वटा, निजी चार र सामुदायिक एक गरी कुल ६१ वटा सेवा प्रदायक संस्था सूचीकृत छन् । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आव २०८१/८२ मा सात हजार ६१ जनाको बीमा गरिएको संयोजक खरेलले बताए ।

जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१, द्वन्द्वपीडित ३८२, जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता परिवारका ६३ जना र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो ।

सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०७३ साल असारमा गण्डकीमा पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशभित्र ६१ वटा अस्पताल तोकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्