समय : ०५:२७ pm | शुक्रबार , श्रावण २ गते २०८२

२६ सय विन्दुमाथि उक्लियो नेप्से

अर्थ विशेष | असार ९ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ९ अर्ब १४ करोड बढीको कारोबार भएको थियो । आजको बजारबारे बजार जानकार देव गुरागाई भन्छन्, ‘अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा छन् । हिजो आजको बजारमा असार मसान्तको प्रभाव पनि देखिन्छ । अहिलेको बजारलाई भविष्यका लागि एक्युमुलेशनको रुपमा लिन सकिन्छ ।’

हालको बजार साइडवेजमा चलिरहेकाले यसलाई भविष्यका लागि सुरक्षित मान्न सकिने उनले बताए । ‘बजारको अहिलेको अवस्था स्वस्थनै देखिन्छ । बजारमा कारोबारी हाबी भएकाले निरन्तर साइवेज चलिरहेको छ । उनीहरु थोरै मार्जिनमा चलिरहेका छन्,’उनले भने ।

उनले आज बजार २६ सय विन्दुमाथि अडिनुलाई सकारात्मक रुपमा लिन सकिने बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । व्यापार समूहमा लगानीकर्ताको आकर्षण देखियो । यो समूह आज २.७२ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, फाइनान्स ०.६८, होटल ०.८५,हाईड्रो ०.६५, लगानी ०.३५ र लघुवित्त समूह ०.०९ प्रतिशतले बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५८ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि ०.१०, जीवन बीमा ०.२७, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा ०.१८ र अन्य समूह ०.२१ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्