समय : ०४:३६ pm | आइतबार , असार २९ गते २०८२

नेप्सेमा झिनो वृद्धि

अर्थ विशेष | असार १ गते २०८२

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.४७ अंकले बढेर २ हजार ६५५.८५ विन्दुमा पुग्यो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४५३.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गत बिहिबार भने बजारमा १२ अर्ब ५१ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज उत्पादन तथा प्रशोधन र हाईड्रो जस्ता समूहमा केही वृद्धि देखिएको छ । यद्यपी सबै समूह भने चल्न सकेन । बजार यतिबेला खासै बढ्न र घट्न पनि नसकेको अवस्था देखिन्छ । तर बजारलाई कारोबारको भने साथ रहेको छ ।’

यसले बजारमा कुनैपनि बेला मुभमेन्ट आउन सक्ने उनले बताए ।

अर्का बजार जानकार सरोज भट्टराईले बजारमा केही समययता ट्रेण्ड परिवर्तन भएको र लगानीकर्ता भन्दा कारोबारी हाबी भएको बताए । बजारमा प्रविधिले फड्को मार्दै गर्दा लगानीकर्ता छिटो छिटो कमाउन लागि परेको र समग्र बजार साइडवेजमै चलेको उनले बताए ।

‘आईपीओ निष्कासन पनि बढ्दै गरेकाले यसका लागि पैसा जोहो गर्न लगानीकर्ताले सेयर बिक्री गरिरहेकोृ पनि हुन सक्छन्,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.४७ प्रतिशतले बढ्यो ।

यस्तै विकास बेंक समूह ०.४८ प्रतिशत,हाईड्रो ०.९६, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।

लगानी समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज ०.७६ अंकले घट्यो । बैंकिङ समूह पनि आज ०.४४ प्रतिशत,फाइनान्स ०.५९,जीवन बीमा ०.५४,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.४१, होटल ०.०६ र अन्य समूह ०.४६ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्