समय : १२:२२ am | शनिबार , वैशाख २५ गते २०८३

धान खेतीको विकल्पमा सिंघारा खेती

अर्थ विशेष | कार्तिक ५ गते २०८१

जलेश्वर ।बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका महोत्तरी जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन्। प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन्।

धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा खेतीमा कम मेहनत गरेर राम्रो आम्दानी हुने भएकाले यहाँका सयौँ बिघामा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको जलेश्वर नगरपालिका–१ का किसान भोगिन्द्र पासवानले बताए।

उनका अनुसार जमेको पानीमुनी लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र सुन्दर फल हो। जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ।

यस वर्ष भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङ्गका सुन्दर र मिठो फल) सिंघारा खेती गरिएको छ।

जलेश्वर– ६ का किसान गोपी मुखियाले डुबानबाट आजित भएपछि पानी जम्ने क्षेत्रका धेरैजसो किसान यस खेतीतर्फ आकर्षित भएको बताए।

यसवर्ष वर्षौदेखि बाँझो रहेको जलाशयमा पनि एक सय ५० बढी घरपरिवारले सिंघारा खेती गरेका जलेश्वर–२ का किसान भोला मुखियाले जानकारी दिए।

सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छ भने स्थानीय बजारमा आकार हेरेर प्रतिकिलो रु। १०० देखि एक सय ६० सम्म बिक्री हुने गरेको र यसबाट आफूहरूले प्रत्येक वर्ष राम्रो आम्दानी गरिरहेका जलेश्वर– ३ का किसान रामु सहनीले बताए।

मिथिालाञ्चलभरि पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गरेका जलेश्वर– ८ का किसान कलमुद्दिन राईको भनाइ छ।

सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु. दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय महादेव मुखियाले बताए।

जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले सिंघारा खेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगकै रूपमा विकास गर्नुपर्ने बताए। उनले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य संघले आगामी दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउनेसमेत बताए।

25
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonsharethis sharing button

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्