खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए । 'अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरू छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ', उनल भने, 'पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।'
होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा विसं २०६५ मा स्थापना गरिएको कृषि सहकारी संस्थाले सुरु गरेको मादक पदार्थ विसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीयवासी एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का युवानेता अमर श्रेष्ठले बताए । सहकारीले दसैँ, तिहार तथा छठ पर्वका अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मापसे गर्न छाड्ने तीन जना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गरेका हुन् ।
बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरूले सङ्कलन गरेको ३० हजारबाट सुरु गरिएको सहकारी संस्थाको कुल पुँजी अहिले १० लाख पुगेको सहकारीका सदस्यसचिव एवं प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिए ।
'प्रत्येक महिनाको २ गते सहकारीको नियमित बैठक बस्छौँ । शेयर सदस्यहरूबीच मासिक एक सयदेखि एक हजारसम्म बचत गर्दा अहिले सहकारीको कुल पुँजी १० लाख पुगेको छ', उनले भने, 'आवश्यकता र स्रोत सुनिश्चिताका आधारमा ऋण प्रवाह गर्ने गरिएको छ । पछिल्लो समय सहकारी संस्थामा आबद्ध सबै शेयर सदस्यहरू व्यावसायिक बनेका छौँ । यसले घर खर्च चलेको छ ।'










