समय : ०८:४० am | शनिबार , वैशाख २६ गते २०८३

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

अर्थ विशेष | असाेज २१ गते २०८१

राजविराज (सप्तरी) । केही दिनअगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरू समस्यामा परेका छन् ।

कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताए । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले उल्लेख गरे ।

कोसी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । सदाले भने, 'बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।'

सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताए । खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उनको गुनासो छ । 'बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन', उनले भने ।

स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताए । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उनले गुनासो पोखे । तीनै तहका सरकारलाई सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्