समय : ०६:५१ pm | शनिबार , वैशाख २६ गते २०८३

तनहुँमा एक करोड लागतमा दुईसय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण

अर्थ विशेष | असाेज १४ गते २०८१

तनहुँ ।म्याग्दे गाउँपालिकाले दुईसय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ। कृषि उपजलाई भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे-३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो।सुरुमा दुई करोड र चालु आर्थिक वर्षमा एक करोड २० लाख रूपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो।

यो गाउँपालिकामा विशेषगरी सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ। चिस्यान केन्द्र बनेपछि लामो दूरी, महँगो ढुवानी र शुल्क तिर्नबाट छुटकारा पाएपछि कृषक उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

'कृषि उपज भण्डारण गर्दा कृषकसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ', उनले भने, 'गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ।'

ल्यान्डफिल साइट निर्माण

त्यसैगरी, गाउँपालिकाले वडा नं २ स्थित बहपुरमा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ। संघीय सरकारको दुई करोड रूपैयाँ लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ल्यान्डफिल साइट निर्माण गरिएको हो।

बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष एक करोड ४० लाख रूपैयाँको लागतमा निर्माण गरिएको हो। उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने सो गाउँपालिकाले जनाएको छ।

कुहिने फोहरलाई प्रांगारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागिएको हो।

गाउँपालिकाले अन्य पालिकासँग सम्झौता गरेर शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिए। उक्त स्थानमा उत्पादन गरेको प्रांगारिक मल प्रयोग गरी सोही स्थानमा व्यावसायिक सुन्तलाखेती गर्ने योजनासमेत रहेको उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्