समय : १०:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ४९ हजार ९ सय पुग्यो

अर्थ विशेष | श्रावण १८ गते २०८१

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सुनको मूल्यमा शुक्रबार कीर्तिमान बनेको छ। सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ।यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। जुन यसअघिको उच्च मूल्य थियो। उक्त मूल्यको कीर्तिमान शुक्रबार तोडिएको हो।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। बिहीबार सुन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो।

नेपाली बजारमा सुनको मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्