समय : १०:३२ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

गण्डकीमा एकवर्षमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण, २१ वटा मोटरेबल पुल

अर्थ विशेष | श्रावण १७ गते २०८१

म्याग्दी। गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षको अवधिमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ। गण्डकी प्रदेशका ११ वटा जिल्लामा गत आर्थिक वर्षमा सञ्चालन भएका आयोजनामार्फत २ सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिएका छन्।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २१ वटा मोटरेबल पुल, १९ वटा झोलुङ्गे पुल र २५ वटा भवन निर्माण गरेको छ। प्रदेश सरकार स्थापना भएको ७ वर्षको अवधिमा ९०१ किलोमिटर कालोपत्र, ६९६ किलोमिटर ग्राभेल, १०६ वटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको छ। ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधी छोटाउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनका लागि सडक आयोजनाहरु प्रभावकारी बनेका छन्।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्