चितवन। यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्धि गर्न छाडेका छन्। विगत ६ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमा समेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन्।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन्।
अहिले दूध उत्पादन गर्ने किसानले दोबर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन्, बगालेले भने। बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उनले बताए।सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासंघका जिल्ला सचिव इन्द्रमणि गैरेले बताए। बाहिरबाट अनाधिकृतरुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो। उनले भने, अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन्।
अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सँग गरी ७२ करोड रूपैयाँ दूधको भुक्तानी लिन बाँकी छ। भुक्तानीका लागि पटक-पटक धाउनपर्छ, थोरै-थोरै गरेर भुक्तानी आउँछु, बगालेले भने, हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन्। उनले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिए।
जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताए। अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन्।










