समय : ०२:१२ am | बुधबार , वैशाख २९ गते २०८३

झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु

अर्थ विशेष | श्रावण २ गते २०८१

झापा जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो।सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए। सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीनजना सामान्य घाइते भएका छन्। सबैभन्दा धेरै पाँच सय ५१ व्टा मोटरसाइकल दुर्घटनामा परेका छन्।प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन्। वर्ष आव २०७९र८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ।

आव २०७९र८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए। ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

सवारी कारबाही

जिल्लामा गत आव २०८०र८१ मा ५७ हजार चारसय ५६ सवारीसाधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रूपैयाँ राजस्व संकलन भएको छ।

संघीय सरकारले निर्धारण गरेअनुसार पहिलोपटक कारबाहीमा पर्नेलाई पाँचसय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँचसय रूपैयाँ जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए। उनले भने, ुअहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ। एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ।ु

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एकसय ४१ रूपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा एक करोड सात लाख २७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए। गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो।

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए। यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्