दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो ।
प्रति पाडाबाच्छी रु १० हजारका दरले किसानलाई अनुदान दिइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप अनुदानको कार्यक्रम सञ्चालन गरिएको चौधरीले बताए । कार्यक्रमका लागि रु ७० लाख बजेट भएपनि ८६ दशमलव २९ प्रतिशत मात्रै प्रगति भएको उनको भनाइ छ ।
तीन सय ३१ कृषकबाट ६ सय १८ पाडाबाच्छीको प्रस्ताव आएपनि तीन सय २७ कृषकका ६ सय चार पाडाबाच्छीलाई मापदण्डका आधारमा अनुदान उपलब्ध गराइएको चौधरीले बताए ।
गत वर्ष एक सय ६० जना किसानलाई जनही रु १० हजारका दरले रु १६ लाख वितरण गरिएपनि यस वर्ष यो कार्यक्रममा कृषकको आकर्षण बढेको चौधरीले उल्लेख गर्नुभयो । डा चौधरीका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।
नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा चौधरीले भन्नुभयो, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”










