दाङ। दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ।
जसमा नक्सा बिक्रीबाट २२ लाख २९ हजार ४७५ रुपैयाँ, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट २४ लाख ८४ हजार २६५ रुपैयाँ र अन्य प्रशासनिक सेवा शूल्कबापत ९३ हजार ७२५ रुपैयाँ असुली भएको छ।
कार्यालयले फिल्ड किताब उतारतर्फ एक हजार १७३ वटा निवेदनमध्ये शतप्रतिशत तामेली भएको छ भने क्षेत्रफल जाँचतर्फ ५४ वटै निवेदनको काम भएको सूचना अधिकारी खड्काले बताए।
त्यसैगरी, नक्सा प्रिन्टतर्फ साधारण निवेदनमार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणालीमार्फत २२७ वटा काम भएका छन्। सूचना अधिकारी खड्काका अनुसार फिल्ड रेखाङ्कनका २५९ निवेदनमध्ये २३८ वटाको काम तामेली भएका छन् भने २१ वटा बाँकी रहेका छन्।
त्यस्तै कित्ता एकीकरणका १२३ वटै निवेदनको शतप्रतिशत काम सम्पादन भएको छ। जग्गा कित्ताकाट सेवातर्फ अधिकांशको काम फछ्र्यौट भएको छ। राजीनामातर्फ प्राप्त तीन हजार ३६५ लिखतमध्ये तीन हजार ३५७ वटाको कित्ताकाट तामेली भई आठ वटामात्र बाँकी रहेका छन्।
त्यस्तै अंशबण्डातर्फ ४४३ लिखतमध्ये ५४० वटा, अदालत फैसलातर्फ ५६ लिखतमध्ये ५४ र हालको बकसपत्रतर्फ ४१८ लिखतमध्ये ४१६ वटाको काम तामेली भएका छन्। कार्यालयले राजस्व अनलाइन प्रणालीबाट लिने गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा अनलाइनमार्फत नै उपलब्ध गराउने गरिएको छ।










