समय : ०३:५६ pm | बिहिबार , असार ११ गते २०८३

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

अर्थ विशेष | असार ११ गते २०८३

मलेखु (धादिङ) । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ । परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोब्बरले वृद्धि भएको हो ।

विगतमा २०० किलो भण्टा उत्पादन हुने गरेको एउटै जग्गामा अहिले ४०० किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताए । अधिकारी भन्छन्, “भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले हामी पातलो गरी बोटहरू रोप्थ्यौँ । अहिले बिरुवा रोप्ने बेलैमा नापेर लगाउँछौँ । निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ ।”
खेतबारीमै प्राविधिक ज्ञान पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन् । “पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिकाहरु सिकाउनुहुन्छ, रोग कीराबारे जानकारी दिनुहुन्छ, उत्पादन पनि बढेको छ”, अधिकारीले विगत र वर्तमान सुनाए ।

पिपलटारका किसानहरूले यसअघि तरकारीखेती नगरेका भने होइनन् । परम्परागत तरिकाले विभिन्न जातका तरकारी उत्पादन गरेर जेनतेन जीविकोपार्जन गरिरहेकै थिए । तर, विगत दुई वर्ष अघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा वृद्धि भएको किसानले बताएका छन् ।

हाल यहाँका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छन् । पिपलटारसहित सिद्दलेक–७ मा करिब ५०० किसानले तरकारीखेती गरिरहेका छन् । अहिले यहाँका एक जना किसानले एकखेप तरकारी टिप्दा एक हजार किलोसम्म सङ्कलन गर्ने गरेका छन् ।खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो, अहिले दुःख कम उत्पादन बढी भइरहेको स्थानीय कृषक सुनिता कोइराल बिसुन्केले बताए ।

पिपलटारमा उत्पादित तरकारीको सङ्कलन र बजारीकरणलाई व्यवस्थित गर्न खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमै तरकारी सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँमै सङ्कलन केन्द्र स्थापना भएपछि किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको छ ।तरकारी व्यवसायमा फैलिएको बिचौलिया प्रथाबाट केही हदसम्म किसानले राहत पाएका छन् । तर, बजारको उतारचढावका कारण उत्पादित तरकारीले अझै उपयुक्त मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ ।

तरकारी उत्पादनमा क्रान्ति नै आए पनि मूल्य निश्चित हुँदा कृषकहरू पूर्ण सन्तुष्ट छैनन् । कृषकहरू भन्छन्, “पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौँ र पुरानै शैलीले लगाउँथ्यौँ, उत्पादन निकै कम हुन्थ्यो । अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन ।”

यहाँका किसान तरकारीखेती मै आश्रित छन् । वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय हो । उत्पादनको परिमाण र गुणस्तर सुधारमा सकारात्मक परिवर्तन आएसँगै सरकारले बजारको सुनिश्चित गरेर उचित मूल्य किसानले पाउँदा राहत हुने अगुवा किसान सीता गिरीले बताइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्