काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर प्रधानमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।स्वास्थ्य मन्त्रालयसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नर्सको आन्दोलनका विषयमा बुझ्न र तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।
देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने उनले बताइन् ।स्वास्थ्य मन्त्रालयको निर्णयबमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनुपर्ने निर्णय गरेको थियो ।









