काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका स्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिवार सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।
कार्वन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र बृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरुको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गरेकी थिइन् ।प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उप प्रमुख अनिता लामा रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।
प्रमुख अतिथि तथा नगर प्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपुर्ण कुराहरु समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिँदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।
नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिइन् ।
विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मुल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकोले विद्यालय, स्थानीय यूवाहरुको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए ।