म्याग्दी। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ।
सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण प्रक्रिया अघि बढाइएको यस आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजनाको पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका विविध अवरोधका कारण डेढ दशकपछि बल्ल सम्पन्न हुन लागेको हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण सम्पन्न भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन सुरु गरिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
“म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकी नदीको बाढीले कटान गरी क्षति पुर्याएपछि असोज ६ गतेदेखि सुरु भएको आयोजनाको परीक्षण अवधि लम्बिएको हो,” उनले भने, “प्राकृतिक विपत्ति, कोभिड-१९ महामारी, भन्सार प्रक्रियाको जटिलता, अन्तर्राष्ट्रिय युद्धको असर तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकलगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको हो।”
रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण गरिएका छन्। कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक छेउमा पर्ने रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ। आयोजनाअन्तर्गत छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।
तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट र बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग तथा राहुघाट नदीमा एकवटा बेलिब्रिज निर्माण गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए। विद्युतगृह परिसरमा स्वीचयार्ड र कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइनसमेत निर्माण गरिएको उनले जनाए।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो। भारतको वाप्कोस कम्पनी राहुघाट आयोजनाको परामर्शदाताका रूपमा रहेको छ।
राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग विसं २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल ठेक्का सम्झौता गरेको थियो। आइभीआरसीएलले पूर्वसम्झौताअनुसार काम गरेको भए सोही क्षमताको राहुघाटले विसं २०७० सालमै विद्युत् उत्पादन सुरु गरिसक्ने थियो।
तर, कमजोर आर्थिक अवस्थाका कारण निर्माण कार्य अघि बढाउन नसकेपछि विद्युत् प्राधिकरणले विसं २०७२ सालमा आइभीआरसीएलसँगको ठेक्का रद्द गर्यो । ठेक्का तोडिँदासम्म पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति जम्मा १२ प्रतिशतमा मात्र सीमित थियो।
त्यसपछि प्राधिकरणले आयोजनाको पुनर्संरचना गरी यसको क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय गर्यो । आइभीआरसीएलको ठेक्का रद्द भएपछि प्राधिकरणले विसं २०७३ सालमा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजनाको कामलाई पुनः अगाडि बढायो।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो।
नयाँ बोलपत्र प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७४ साल मङ्सिर ६ गते करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सो कम्पनीले विसं २०७५ असारदेखि पहुँचमार्ग र विसं २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण थालेको थियो। विसं २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको (ब्रेक थ्रु भएको) थियो।
यसबीचमा सन् २०२२ फेब्रुअरीमा पहिलो, सोही वर्ष दोस्रो र सन् २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो। चौथोपटक थपिएको समयसीमाभित्र आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । यस्तै, भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भेल भारत सरकारको स्वामित्वमा रहेको कम्पनी हो।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा सबैभन्दा पहिले सुरु भएको र सरकारी लगानीमा सञ्चालित राहुघाटलाई म्याग्दीको जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको बताए।
“राहुघाट निर्माण सुरु भएपछि म्याग्दीमा भित्रिएका अन्य १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन्,” उनले भने, “ढिलै भए पनि डेढ दशकको लामो प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेकामा हामी अत्यन्तै उत्साही भएका छौं।”










