काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।
अंकतालिकाको पुछारमा रहेको काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। यसअघि काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। यता लगातार दुई खेल जितेको कर्णाली तेस्रो जित निकाल्दै शीर्ष स्थान कायमै राख्न चाहन्छ।
त्यस्तै, आजको दोस्रो खेल सुदूरपश्चिमका लागि महत्वपूर्ण हुनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एक जित र दुई हार बेहोरेको छ।
अर्कोतर्फ चितवन राइनोजले अहिलेसम्म हार बेहोरेको छैन। पहिलो खेल जितेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए।










