समय : ११:०७ am | बिहिबार , असाेज २९ गते २०८३

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

अर्थ विशेष | असाेज २९ गते २०८३

काठमाडौं। उदयपुर जिल्लाबाट वार्षिक तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ।

केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लामा उत्पादित कुल मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा निर्यात हुने गरेको छ। गत आर्थिक वर्ष २०८२-८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको थियो। यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो। अघिल्लो वर्षको तुलनामा मासु उत्पादन दर करिब २.९२ प्रतिशतले वृद्धि भएको छ।

गत आवमा जिल्लामा सबैभन्दा बढी दुई हजार १३९ मेट्रिकटन सुँगुर-बङ्गुरको मासु उत्पादन भएको थियो। त्यसैगरी खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ। साथै भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको छ।

प्रमुख लिम्बूका अनुसार उदयपुर मासु उत्पादनमा आत्मनिर्भर छ। ‘हाम्रो तथ्याङ्कअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ। बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ’, उनले भने। जिल्लामा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै सुनसरीको बराह क्षेत्र र सप्तरीको सिसबारी क्षेत्रबाट बोइलर कुखुरा आयात गर्नुपर्ने हुन्छ। विशेषगरी दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर-बङ्गुर बाहिरी जिल्लामा बढी निर्यात हुने गरेको कार्यालयले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्