काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति यादवले नाडा अटो शो केवल एउटा व्यापारिक मेला वा प्रदर्शनी मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एक सशक्त मार्गचित्र समेत भएको उल्लेख गरे ।
‘आजको आधुनिक युगमा अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका अतुलनीय छ,’ उनले भने, ‘नेपाली अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सहकार्यका नयाँ आयाम थप्दै आएको नाडाको प्रयास प्रशंसनीय छ ।’
सम्बोधनका क्रममा उपराष्ट्रपतिले नेपाल अब सवारीसाधनको आयातमा मात्र भर नपरी स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । ‘अब नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक छ । यसले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको सञ्चितिमा पनि मद्दत पुर्याउनेछ,’ उनले भने ।
उपराष्ट्रपति यादवले १८औँ संस्करणको यो प्रदर्शनीले विद्युतीय सवारीसाधन, नवीनतम प्रविधि, अटो पार्ट्स र ग्यारेज उपकरणहरूलाई एउटै छातामुनि प्रस्तुत गरेर उपभोक्ताको सहज पहुँचमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।
उनले हरित ऊर्जामा आधारित सवारीसाधनको प्रवर्द्धन गरी मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउनु आजको मुख्य आवश्यकता रहेको औँल्याए ।
नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्डलाई नेपालमा भित्र्याउनु नाडाको लक्ष्य हुनुपर्ने उनको भनाइ थियो । ‘उपभोक्ता, उद्योगपति, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण हुनुपर्छ,’ उनले भने ।
यसैगरी, उनले नयाँ सोचका साथ आउने अटो-टेक स्टार्टअपहरू र आधुनिक ग्यारेज सेवा केन्द्रहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्नुपर्ने बताए ।










