समय : ०४:४९ pm | शनिबार , मंसिर २७ गते २०८२

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

अर्थ विशेष | कार्तिक २८ गते २०८२

वीरगञ्ज। राज्यले तत्काल निर्णय गर्न नसक्दा वीरगञ्ज भन्सार कार्यालयमा १८५ कन्टेनर बेवारिसे मालवस्तु अलपत्र परेको छ ।

कोभिड महामारीअघि २०७६ सालमा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तुको जिम्मेवार व्यक्ति तथा कम्पनी फेला नपर्दा बेवारिसे अवस्थामा तत्कालिन सुक्खा बन्दरगाह (ड्राइ पोर्ट) मा अलपत्र परेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार त्यसबेला २२० कन्टेनर मालवस्तु ड्राइ पोर्ट भन्सारमा आएकोमा १७ कन्टेनर मालवस्तुको लिलाम बिक्री भई तीनवटा कन्टेनर फिर्ता पठाइएको छ । १७ मध्ये १४ कन्टेनर फिर्ता पठाउने निर्णय भई पठाउने प्रक्रियामा रहेको छ । बाँकी १८५ कन्टेर बेवारिसे मालवस्तु नष्ट गर्नुपर्ने भएकोले भन्सार जाँचपास नभई यार्डमै थन्किएका छन् । आयातकर्ता फेला नपर्दा ती सामान नष्ट गर्नुपर्ने भएकोले जाँचपास नगरी सिल गरेर राखिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए । मालवस्तु सहितका १८५ कन्टेनर नष्ट गर्नुपर्ने भएकोले अहिले कुनै निर्णय हुन नसकेको उनले जानकारी दिए । मालवस्तु सहितका ती कन्टेनर सिल गरेर राखिएको छ ।

सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, ९ वटामा सुपारी, ७ वटामा फिड सप्लिमेन्ट (आहार पूरक) र २ वटा कन्टेनरमा मसुरो दाल रहेको छ । चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रे एक–एक कन्टेनर रहेका छन् । सामानसहितका कन्टेनर स्थानीय प्रशासन तथा जिल्लास्थित सरकारी कार्यालय र सरोकारवाला निकायहरुको रोहबरमा सिलबन्दी गरेर राखिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए । उनले भने, ‘सबै निकायहरुको रोहबरमा सिल लगाइएको छ । कतिपय वस्तुहरु अखाद्य रहेको प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि नष्ट गर्नुपर्ने हुन्छ । अहिले त्यो रिपोर्टहरु पनि आएको छैन । अब केही मालवस्तुको कन्टेनर सिल तोडेर प्रयोगशाला परीक्षणका लागि पठाएर रिपोर्ट आएपछि नष्ट गर्ने कि के गर्ने निर्णय लिनु छ ।’

चालु आर्थिक वर्षको बजेटमा सरकारले ड्राइ पोर्ट भन्सार र वीरगञ्ज आईसीपी भन्सार कार्यालयको सेवा एकीकृत गरेर सेवा सुरु गरेकोले पनि त्यसबेला ती कन्टेनर कसले आयात गरेको हो भन्ने अभिलेख नभेटिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीको भनाइ छ । आयातकर्ता फेला नपरेपछि पोस्ता दाना, सुपारी र छोकडा लगायतका मालवस्तु लिलामीका लागि तत्कालिन सुक्खा बन्दरगाह भन्सार कार्यालयले पटक–पटक बोलपत्र आह्वान गर्दा समेत लिलामका लागि कोही पनि आएनन् ।

तेस्रो मुलुकबाट आयात गरिने मालवस्तु सिपिङ कम्पनीमार्फत समुद्र मार्गबाट भारतीय रेलमार्ग हुँदै वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आउने गरेको छ । ड्राइ पोर्टमा रेल र कन्टेनर व्यवस्थापनको जिम्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टरमोडल यातायात विकास समिति मार्फत अहिले प्रिन्स्टिन भ्याली ड्राइ पोर्टले गर्दै आएको छ । प्रिन्स्टिन भ्यालीले दोस्रो पटक ठेक्का पाएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्