एजेन्सी । चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६ वटा नयाँ एफ-१६ भी (ब्लक ७०) फाइटर जेटमध्ये पहिलो खेपमा दुई वटा लडाकु विमान ताइवान पुगेका छन् । महिनौँको ढिलाइपछि आइपुगेका यी विमानहरू ताइवानको पहाडी पूर्वी तटीय क्षेत्र ताइतुङस्थित छिहाङ एयर बेसमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।
हवाई र गुआम हुँदै उडान भरेर यी विमानहरू ताइवान पुगेका हुन् । ताइवानका राष्ट्रपति लाई चिङ तेले सामाजिक सञ्जाल फेसबुकमार्फत यो आगमनलाई ताइवानको हवाई रक्षा क्षमता सुदृढ बनाउने महत्त्वपूर्ण कदम भन्दै अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
यस्तै, ताइवानका रक्षामन्त्री वेलिङ्टन कुले ताइपेईस्थित संसद्मा बोल्दै अन्य एफ-१६ भी विमानहरू पनि चाँडै आइपुग्ने जानकारी दिएका छन् । अमेरिकाले सन् २०१९ मा ताइवानलाई ८ अर्ब अमेरिकी डलर बराबरका एफ-१६ भी जेट बिक्री गर्ने स्वीकृति दिएको थियो ।
तर सफ्टवेयरसम्बन्धी प्राविधिक समस्याका कारण डेलिभरीमा ढिलाइ भएको थियो । नयाँ एफ-१६ भी जेटहरूमा अत्याधुनिक एभियोनिक्स, हतियार र राडार प्रणाली जडान गरिएको छ, जसले चीनका जे-२० स्टेल्थ फाइटरसहितका सैन्य क्षमतासँग सामना गर्न सहयोग पुर्याउनेछ ।
बेइजिङले ताइवानलाई आफ्नै भूभाग दाबी गर्दै आएको छ भने ताइवानलाई बलपूर्वक कब्जा गर्ने चीनको नियत कहिल्यै नबदलिएको रक्षामन्त्री कुले बताएका छन् । यसैबीच, ताइवानले आठ वटा पनडुब्बी निर्माण गर्ने घरेलु हतियार कार्यक्रम पनि अघि बढाएको छ ।
यसअन्तर्गत ‘नारवाल’ नामक पहिलो पनडुब्बीको अन्तिम परीक्षण पनि भइरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका इन्डो-प्यासिफिक क्षेत्रका मित्र राष्ट्रहरूसँग उभिन प्रतिबद्ध रहेको र त्यसमा ताइवान पनि समावेश रहेको स्पष्ट पारेका छन् ।










